
हेटौंडा । बिरामीको विषयलाई लिएर डाक्टरमाथि कुटपिट भएको घटनामा संलग्न थप एकजना पक्राउ परेका छन् ।
हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डा. प्रशान्त बिडारी र डा. विकास थापामाथि भाद्र २७ गते कुटपिट भएको थियो ।
करिब १० जनाको समूहले चिकित्सकद्वय थापा र बिडारीमाथि निर्घात कुटपिट गरेका थिए।
उक्त घटनामा संलग्न हेटौडा उपमहानगर-१२ सिक्रेनि बस्ने ३६ वर्षीय जिबन लामालाई आज पक्राउ गरिएको हो ।
हेटौंडा उपमहानगर- १५ रातोमाटेमा हिडिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी लक्ष्मी भण्डारीले केटिएम दैनिकलाई जानकारी दिए।

सोही घटनामा हेटौंडा उपमहानगर-१२ सिक्रेनी बस्ने ४० वर्षीय सुनिल पाख्रिनलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।
कुटपिटमा संलग्न हेटौंडा-१२ निवासी रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई भाद्र २८ गते नै पक्राउ गरिएको थियो। कुटपिटमा संलग्न रमा मृतककी श्रीमती, रमिता छोरी, रोहित छोरा र अमित भतिज रहेको बुझिएको छ ।
गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए। ४१ वर्षीय प्रधानलाई डेंगु भएको परिवारको आशंका थियो। तर अस्पतालमा जाँच गर्दा रिपोर्ट नेगेटिभ देखियो ।
आफन्तले विरामीलाई अन्यत्र लैजाने भनेपछि अस्पताले भोलिपल्ट डिस्चार्ज दियो। बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए । उपचारको क्रममा प्रधानको भदौ २५ गते निधन भयो ।
सन्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने अवस्थामा पुगेको भन्दै आफन्तहरुले चिकित्सकमाथि आक्रमण गरेको बताइएको छ ।
लामासँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या छ पुगेको छ ।
पक्राउ परेका उपर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अन्तरगतको कसुरमा अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।