
काठमाडौँ । ५० भन्दा बढी युवायुवतीलाई वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरूले काठमाडौँमा ओरा कन्सल्टेन्सी नामक कम्पनी खडा गरेर त्यसमार्फत विदेश पठाउने भन्दै ५० बढी व्यक्तिबाट रकम लिएर ठगी गरेको खुलेको छ ।
उनीहरूले चेक रिपब्लिक जानको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने त्यहाँ पुगेपछि मासिक एक लाख तलब हुने गरी काम लगाइदिने भन्दै प्रलोभनमा पारेका थिए ।
पीडित व्यक्तिबाट पटक पटक गरी चालिस लाख भन्दा बढी रकम लिएपछि सम्पर्कविहीन भएका सञ्चालकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका बुढानीलकण्ठ एरियाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-४ घर भई हाल नयाँबानेश्वर बस्ने वर्ष २५ को अमृत कार्की र अशोक कार्कीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।