
मकवानपुर । बिरामीको विषयलाई लिएर डाक्टरमाथि कुटपिट भएको घटनामा संलग्न थप एकजना पक्राउ परेका छन् ।
हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डा. प्रशान्त बिडारी र डा. विकास थापामाथि भाद्र २७ गते कुटपिट भएको थियो ।
करिब १० जनाको समूहले चिकित्सकद्वय थापा र बिडारीमाथि निर्घात कुटपिट गरेका थिए।
कुटपिटमा संलग्न हेटौंडा-१२ निवासी रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई भाद्र २८ गते नै पक्राउ गरिएको थियो भने हिजो थप एकजनालाई पक्राउ गरिएको हो । कुटपिटमा संलग्न रमा मृतककी श्रीमती, रमिता छोरी, रोहित छोरा र अमित भतिज रहेको बुझिएको छ ।

बुधबार पक्राउ पर्नेमा हेटौंडा उपमहानगर-१२ सिक्रेनी बस्ने ४० वर्षीय सुनिल पाख्रिन रहेका छन् ।
पाख्रिनलाई हिजो साँझ ५:०० बजे हेटौंडा-९ सिमेन्ट रोड बाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले केटिएम दैनिकलाई जानकारी दिए।
गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए। ४१ वर्षीय प्रधानलाई डेंगु भएको परिवारको आशंका थियो। तर अस्पतालमा जाँच गर्दा रिपोर्ट नेगेटिभ देखियो ।
आफन्तले विरामीलाई अन्यत्र लैजाने भनेपछि अस्पताले भोलिपल्ट डिस्चार्ज दियो। बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए । उपचारको क्रममा प्रधानको भदौ २५ गते निधन भयो ।
सन्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने अवस्थामा पुगेको भन्दै आफन्तहरुले चिकित्सकमाथि आक्रमण गरेको बताइएको छ ।
पाख्रिनसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ । पक्राउ परेका उपर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अन्तरगतको कसुरमा अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।