
सिन्धुली । सर्पले टोक्दा (डस्दा) सिन्धुलीमा ६५ वर्षीया वृद्धाको निधन भएको छ ।
जिल्लाको दुधौली नगरपालिका-६ हर्षाही बस्ने ६५ वर्षीया जानुकी माझीलाई बुधबार साँझ ७:०० बजे सर्पले टोकेको थियो । उनको हातमा सर्पले डसेको थियो ।
घाइते वृद्धालाई बुहारीले उपचारको लागि दुधौली सर्पदंश हस्पिटल लगेकी थिइन् ।
उपचारमा संलग्न चिकित्सकले अस्पतालमा वृद्धालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जिवी दाहालले बताए ।
सर्पदंशबाट कसरी बच्ने
सर्पदंशबाट बच्नको लागि राति हिँड्नुपरे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, घर वरपरको घाँस झारपात काटेर सफा राख्ने एवं जमिनका दुला टाल्ने गर्नुपर्दछ ।
यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, सधैँ झुल टाँगेर सुत्ने गर्न पनि आग्रह गरिएको छ ।
सर्पले टोकीहाले के गर्ने
सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मल्हम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्दछ ।
यस्तै धामी–झाँक्रीतिर नलाग्ने, विष सोस्ने कुराको पछि नलाग्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्याउनुपर्दछ ।