
सिन्धुली । सिन्धुलीमा आज दिउँसो मोटरसाइकल र अटो एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा एक महिने शिशुको निधन भएको छ भने दुवै सवारीसाधनमा सवार छ जना घाइते भएका छन् ।
दिउँसो ३:१० बजे मदन भण्डारी सडक खण्डको दुधौली नगरपालिका-२ बसनीयामा डकाहाबाट भिमान तर्फ जाँदै गरेको स९प ३४८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.२-०२-००१ ह १८२८ नम्बरको अटो एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।
उक्त दुर्घटनापश्चात् अटोका चालक फरार रहेका छन् । उनको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले बताए ।
प्रहरीका अनुसार अटोमा सवार मानिसहरू एकै परिवारका सदस्य हुन् । उनीहरू दर खान आफन्तकोमा जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा मोटरसाइकलका चालक दुधौली नगरपालिका-१ बंका बस्ने अन्दाजी वर्ष ४५ को फणिन्द्र बहादुर श्रेष्ठ र मोटरसाइकलमा सवार उनका बुवा अन्दाजी ७० वर्षका लाल बहादुर श्रेष्ठ घाइते भएका छन् । दुवै जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।
त्यस्तै अटोमा सवार दुधौली नगरपालिका-३ झुगाँ बस्ने वर्ष ८० को रामकिश्वर धामी, उनको श्रीमती वर्ष ७० की फुलो धामी, एक महिने सुत्केरी रहेकी बुहारी ३५ बर्सिया रविना धामी र उनको चार बर्सिया छोरी आश्मिना धामी घाइते भएका छन् ।
दुर्घटनामा रविना धामीको एक महिनाको शिशु (छोरा) को उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको हो ।