
काठमाडौं । अमेरिकादेखि नेपालसम्म गाँजा आउने गरेको खुलेको छ । अघिल्लो वर्ष भदौ तेस्रो साता प्रहरीले अमेरिकाबाट पार्सल भनेर हुलाकमार्फत आएको झण्डै दुई किलो गाँजा बरामद गरेको थियो ।
अहिले पनि सोही तरिकाबाट अमेरिकाबाट नेपालमा गाँजा भित्रिएको हो ।
लागुऔषध नियन्त्रण व्यूरोको टोलीले अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै आएको ३ केजी २३९ ग्राम गाँजा सहित ६ जना व्यक्तिहरूलाई पक्राउ गरेपछि केही वर्षदेखि नै नेपालमा यसरी अमेरिका लगायतका देशबाट गाँजा आउने कुरा खुलेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार भदौ १९ देखि २४ गतेसम्म अमेरिकाबाट नेपालका विभिन्न ठेगानामा हुलाकमार्फत पठाइएको पार्सलमा लागूऔषध गाँजा पाइएको हो ।
अमेरिकाबाट हुलाक मार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय, वीरगन्जमा प्राप्त हुने गरी पठाइएको एउटा कार्टून शङ्कास्पद देखिएपछि जाँच गरिएको थियो। त्यस कार्टूनबाट ९०० ग्राम लागूपदार्थ बरामद गरिएको हो। कार्टून ‘पार्सल’ लिन आउने व्यक्ति खोज्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगन्जका डल्लुराम र हविव मियालाई पक्राउ गरिएको हो।
त्यस्तै, अमेरिकाबाट डिल्लीबजार हुलाक मार्फत जिल्ला हुलाक कार्यालय, पोखरामा प्राप्त हुने गरी पठाइएको अर्को कार्टून जाँच गर्दा एक किलो ४०० ग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ। त्यो गाँजा लिन आउने भारतीय नागरिक अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको छ। उनको डेराबाट थप ७२० ग्राम गाँजा बरामद गरिएको छ।
हुलाक मार्फत आएको गाँजा लिन आउने डडेल्धुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ। उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको हो। उनीहरूसँग भएको ९३९ ग्राम ग्राजा बरामद गरिएको ब्यूरोले जनाएको छ।
उनीहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको प्रवक्ता जोशीले बताए।