
काठमाडौं । सामाजिक सञ्जालमार्फत हुँदै नभएको कुरा लेखेर भ्रम फैलाएको आरोपमा आरोपमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्ग्जा आँधीखोला गाउँपालिका-५ ठुलीबराहा बस्ने वर्ष ३५ को सुर्य बहादुर रेग्मी रहेका छन् ।
रेग्मीले फेसबुकमा “राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडी धारिलो हतियार प्रयोग गरी घाईते बनाएको र उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी” भन्दै श्रेष्ठको तस्बिरसहित स्ट्याटस पोस्ट गरेका थिए ।
रेग्मीको उक्त पोस्टपछि निवर्तमान सासंद श्रेष्ठले फेसबुक लाइभ मार्फत उक्त कुरा सत्य नभएको जानकारी गराएका थिए ।
प्रहरीले रेग्मीलाई पक्राउ गरेतापनि उनले आफ्नो फेसबुक एकाउन्टमा राखेको उक्त पोष्ट भने हटेको छैन । यो समाचार तयार गर्ने समयसम्म उक्त पोस्टमा ४१ रियाक्सन, २६ कमेन्ट र ६४ शेयर भएको देखिन्छ ।
निवर्तमान सासंद श्रेष्ठले उक्त पोष्टले समाजमा अराजकता फैलिएको, आफ्नो आत्म सम्मान माथी आघात पुर्याउने गरी भ्रम फैलाएको हुनाले कानुनबमोजिम कारबाही गर्न जिल्ला प्रहरी कार्यालय कास्कीमा लिखित जाहेरी दिएका थिए ।
उक्त जाहेरीपश्चात उक्त फेसबुक आइडी चलाउने स्याङ्जाका रेग्मीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका रेग्मीमाथि विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडि बढाईएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार वि.क. ले केटिएम दैनिकलाई बताए ।