गण्डकी । बाथरोग विशेषज्ञ डा सुधीर कर्माचार्यले बाथरोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताएका छन् ।
नारी शक्ति जागरण आमा समूह पोखरा-१७ आँखा अस्पताल चोकको व्यवस्थापन तथा नेशनल बाथरोग मुस्ताङचोकको प्राविधिक सहयोगमा आयोजित नि:शुल्क रक्त परीक्षण एवं रिपोर्ट वितरण कार्यक्रममा बाथरोगका अधिकांश बिरामीहरुले दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको बताए ।
नेपालमा बाथरोगका बिरामी बढ्दो क्रममा रहेको बताउँदै अहिले छ प्रतिशत जनसङ्ख्यामा पुगेको उनको भनाइ छ । बाथरोगको सङ्केत देखिएका बिरामीहरुले रातो मासु, गेडागुडी, गोलभेंडा, अम्लीय पदार्थ, गुलियो पदार्थ, मद्यपान र धुम्रपान गर्न नहुने र उचाइ अनुसारको मोटोपन कायम राख्न सकेमा आत्तिनु नपर्ने उनको भनाइ छ ।
अहिलेसम्म दुई सयभन्दाबढी प्रकारका बाथरोग पहिचान भएको उनको भनाइ छ । नेपालमा पुरुषको तुलनामा महिलामा बढी बाथरोग देखिएको भन्दै उनले बोसोको मात्रा र भिटामिन डीको कमी एवं रगतको उतारचढावका कारण यो रोगको प्रकोप महिला वर्गमा बढी देखिने गरेको बताए।
बाथरोग लागि सकेपछि चिल्लो पदार्थ कम खाने, दैनिक कम्तीमा एक घण्टा पैदलयात्रा गर्ने र चिकित्सक एवं फिजियोथेरापिष्टको सल्लाहअनुसार व्यायाम गर्नाले फाइदा पुग्ने बताउँदै डा कर्माचार्य भने, “बालबालिका, वयस्क र ज्येष्ठ नागरिकहरुमा फरक-फरक प्रकारका बाथरोग देखिने गरेको छ ।”
शरीरमा रोगसँग भिड्ने शक्ति कमजोर हुँदै गएपछि बाथरोग सक्रिय बन्ने उनको भनाइ छ । वंशाणुगत, वातावरण र हर्मोनहरुको कारण यो रोगले आक्रमण गर्ने गरेको उनले बताए । विश्वमा थुप्रै अनुसन्धान भइरहे पनि बाथरोग लाग्नाका कारण अहिलेसम्म पत्ता नलागेको उनले जानकारी दिए।
डा कर्माचार्य भन्छन्, “जोर्नी सुनिने, आँखा रातो हुने र ढाड दुख्ने तथा छालामा पोल्ने, सञ्चो नहुने, घाउ देखापर्नु उक्त रोगका लक्षण हुन्, कुन किसिमको बाथरोग हो पत्ता लगाउन रगत परीक्षण र एक्स-रेको सहयोग लिन अपरिहार्य छ ।”
उचित उपचार नभएमा औंलाको जोर्नी बाङ्गिने, मिर्गौलालाई असर गर्ने, श्वासप्रश्वास बढ्ने फोक्सोको बाहिरी भागमा पानी जम्ने जस्ता समस्या देखिने उनको भनाइ छ । आमा समूहका अध्यक्ष प्यारी गुरुङका अनुसार शिविरमा एक सय जनाको रगत सङ्कलन गरिएको थियो ।
जसमा ५० जनामा कुनै न कुनै किसिमको बाथरोगको लक्षण देखिएको थियो । समूहले स्थापना दिवसमा वातावरणीय, स्वास्थ्य क्षेत्रका साथै सदस्यलाई सीपमूलक तालिम र मानव सेवा आश्रम छोरेपाटनमा रु १८ हजार पाँच सय सहयोग गरेको छ ।