
काठमाडौँ । नवजात १४ दिनको शिशुको हत्या गरेर फरार भएका बाबु पक्राउ परेका छन् ।
जेठ १४ गते बाराको देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने वर्ष २५ को नुर आलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरा) को हत्या गरेर फरार भएका थिए ।
फरार भएका अन्सारीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जेठ २३ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले आफ्नै छोराको कर्तव्य गरी हत्या गरेर फरार रहेकोले खोजतलास गरी पक्राउ गरिदिनु भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो ।
काठमाडौँबाट पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी भोलिपल्टै जिल्ला प्रहरी कार्यालय बारा पठाइएको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका नि. सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश साहले यस विषयमा अनुसन्धान जारी रहेकाले थप केही भन्न नसकिने स्पष्ट पारे । साहले केटिएम दैनिकलाई बताएअनुसार आरोपित अन्सारी विवाह गरेको ६/७ महिनापछि वैदेशिक रोजगारीको लागि विदेशमा रहेको र केही समय अगाडि मात्र नेपाल फर्केको बुझिएको छ ।