काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
पहिले पाइरहेको सुविधाबाहेक थप अर्को एउटा फोन पनि ल्याउन पाउने निर्णय भएको उनले बताइन्।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको हो । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।
१५ पुसदेखि एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए ।
यसअघि बाहिरबाट फोन ल्याउँदा खेरी आफूले चलाइरहेको मात्र फोन ल्याउन पाइन्थ्यो थप अर्को ल्याए १८ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो।