
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर (अर्धनग्न भएर) विरोध जनाएका छन् ।
सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताएका थिए । तर, केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाए। सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह गरेका थिए ।
तर, सभामुख घिमिरेले उनलाई बोल्ने समय उपलब्ध नगराएकाले बस्न भनेका थिए । तर, सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाएका हुन् । सांसद सिंहले संसद्को मर्यादाविपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को निमय ३० अनुसार पटक-पटक चेतावनी दिएपछि सांसद सिंह आफ्नो स्थानमा बसेका थिए।
आजको बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले यस्तो क्रियाकलाप संसदीय अभ्यासविपरीत रहेको धारणा राखेका थिए।