पर्सा । वीरगंज महानगरपालिका-१६ चालिसफिटे सडकबाट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-१२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका-३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बसपार्कतर्फबाट प्रतिमा चोकतर्फ जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको हो । ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवैमाथि मुद्रा सम्बन्धी कसुरमा (नक्कली मुद्रा प्रयोगमा ल्याउन नहुनेमा) जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जनाए ।