काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइको पेशी आज तोकिएको छ ।
यसअगाडि दुईपटकसम्म अन्तिम पेशी स्थगीत भएकोमा आजको पेशी अगाडि बढेमा उनिविरुद्धको बलात्कारको आरोपको अन्तिम सुनुवाई हुनेछ ।
एक १७ वर्षीया नाबालिकाले भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर लामिछानेले आफूलाई पटक पटक जबरजस्ती करणी गरेको भन्दै प्रहरी वृत्त गौशालामा भदौ २१ गते उजुरी दिएकी थिइन् ।
उजुरीको समयमा पूर्वनिर्धारित कार्यक्रमअनुसार क्यारेवियन प्रिमियर लिग खेल्नको लागि वेस्ट इन्डिज पुगेका लामिछाने त्यसको एक महिनासम्म सम्पर्क बिहीन भएका थिए । प्रहरीले डिफ्युजन नोटिस जारी गर्ने तयारी गरिरहँदा उनी अमेरिकाबाट कतार हुँदै नेपाल फर्केका थिए ।
लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गरेतापनि उच्च अदालतले उनलाई २० लाख रुपैयाँ धरौटी र केही सर्तसहित रिहा गरेको थियो ।
तर, सर्वोच्च अदालतले उच्च अदालतले गरेका केही सर्तहरू खारेज गरेपछि लामिछाने अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट देश र विदेशमा क्रिकेट खेलिरहेका छन् ।
जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो ।
सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’ बाट टुङ्ग्याउन आदेश दिएको भएतापनि विभिन्न कारणले उनको मुद्दाको अन्तिम पेसी अघि बढ्न सकेको छैन ।