
काठमाडौँ । सरकारसँग १८ चैतमा गरिएको सम्झौता अधुरो भएको भन्दै काठमाडौं आएका मिटरब्याज पीडितहरु आज रत्नपार्कको शान्तिबाटिकाबाट नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् । नवलपरासी सुस्ता लगायतका विभिन्न जिल्लाका आएका मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका हुन् ।
यसअघि गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका उनीहरूले सरकारले आफुहरुको समस्याको समाधान नगरेको भन्दै पुनः संघीय सरकारलाई दबाब दिन काठमाडौ आएका हुन्।
मिटरब्याज समस्या समाधानका लागि भन्दै सरकारले १८ चैतमा पीडितसँग सम्झौता गरेको थियो । पाँच बुँदे सम्झौतामा सरकारले मिटरब्याज समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गर्नेसमेत उल्लेख गरेको छ ।
सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरूको आरोप छ। मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिको अगुवाइमा आएका पीडितहरूले भूमिहीन बनाइएका किसानहरूको जमिन फिर्ता गरी कानुनले तोके बमोजिमको व्याज बाहेकको सबै रकम क्षतिपूर्ति सहित फिर्ता गर्नुपर्ने बताउदै आएका छन् ।
कैलाली, बाँके, दाङ, रूपन्देही, नवलपरासी, झापा, सुनुसरी, तनहुँ, कास्की, उदयपुर र मधेसका ८ जिल्लाका करिब ४५० जना पीडित न्यायको लागि संघीय राजधानी आएको किसान-मजदुर संघर्ष समितिका प्रबक्ता निर्ग नविनले जानकारी दिए।
यस अगाडि पनि १ असोजमा पीडित र सरकारबिच पाँच बुँदे सहमति भएको थियो ।
‘बारम्बार सहमती हुन्छ तर, कार्यान्वयन हुँदैन,’ निर्ग नविनले भने, ‘अब हामी निर्णायक आन्दोलनमा छौं ।’ सरकारले बनाउने भनेको आयोगमा पीडितको पनि सहभागिता हुनुपर्ने र आयोग कर्मचारी नेतृत्वको नभई राजनीतिक नेतृत्वको हुनुपर्ने पीडितको माग छ ।
थप तस्बिरहरू