
काठमाडौँ । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्रा आज सुरु भएको छ । आफ्ना दिवंगत पितृहरूको सुगति र मोक्षको कामना गर्दै आफन्तजनहरूले आज बौद्ध स्तुपाको परिक्रमा गर्नुका साथै बत्ती बाल्ने गरिन्छ ।
प्राचीन कालमा तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने भएकाले तेमाल जात्रा नामकरण गरिए पनि आजकाल भने देशभरका मानिसहरू आउने गर्दछन् । मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यकाका तामाङ समुदायको जात्रामा भीड लाग्ने गर्छ ।
चैत्र शुक्ल चतुर्दशीको बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालेका दर्शनार्थीले पूर्णिमाका दिन बिहान बालाजु बाइसधारामा स्नान गर्छन् । स्नानपछि स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ।
तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तूपको जीर्णोद्धार सम्पन्न भएको खुसीमा तेमाल जात्रा चलाएको किंवदन्ती रहेको छ। उनले बिक्रम संवत् १८९१ असोज २ मा तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ पनि छ। अहिले सरकारले यस जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको छ।
पहिले पहिले काभ्रेको तेमालदेखि बौद्धसम्म आएर मनाइने जात्रा भएकोले यसलाई ‘तेमाल जात्रा’ भनिएको हो । तेमाललाई तामाङ राज्यको राजधानी मानिन्छ । त्यहाँका अन्तिम राजा रिन्ज दोर्जे बलले बौद्ध स्तुपाको स्तूपको जीर्णोद्धार सम्पन्न भएको खुशियालीमा यो जात्रा चलाएको भन्ने किंवदन्ती हो ।
पहिले तेमालबाट मात्र तामाङहरु आउने भए पनि अहिले भने उपत्यका लगायत अन्य जिल्लाबाट पनि आएर यो जात्रा मनाउने गर्न थालेको पाइन्छ । पहिले पहिले यो जात्रा राति अबेरसम्मै चल्ने गरिन्थ्यो ।
आज बौद्धमा बत्ती बाल्ने कार्य सकेपछि भोलि पूर्णिमाका दिन बालाजुको बाइस धारामा स्नान गर्ने र त्यसपछि जामाचोस्थित चैत्यको दर्शन गर्न जाने परम्परा छ । त्यहाँबाट फर्केर साँझ स्वयम्भू महाचैत्यको दर्शन गर्ने र कोरा लगाउने परम्परा रहँदै आएको छ ।
थप तस्बिरहरू