भजनी । कैलालीको टीकापुरवासीको एउटा सपना हो-कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिने भएपछि स्थानीय खुशी भएका छन् ।
लामो समयदेखि पटक-पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको थिएन । टीकापुर नगरपालिकाका कमल बुढा पुल बन्ने खबरले खुशीको आभास भएको बताउँछन्। उनी त्यही सनकट्टीको बाटो हुँदै दैनिक ओहोरदोहोर गर्छन् ।
घर टीकापुर भए पनि व्यापारका लागि बर्दियाको गेरुवा गाउँपालिका शान्तिबजारमा गइरहनुपर्छ उनलाई। आवतजावतका लागि डुङ्गा आवश्यक पर्छ । “हिउँदमा कर्णालीमा पानी कम हुन्छ । डुङ्गामा सवार गर्दा खासै डर लाग्दैन”, कमलले भने, “बर्खाको उर्लँदो भेलमा किनारमा नपुग्दासम्म मृत्युले झस्काउँछ । पुल बनेपछि सहजरुपमा आवागमन हुने आशा पलाएको छ ।”
टीकापुरका सुन्दर चौधरी मोटरसाइकलमा व्यापार गर्छन् । उनी बिहानै चाउमिनलगायत अन्य सामान लिएर बर्दिया पुग्छन्। उनको त्यो दैनिकीजस्तै हो । बर्दिया पुग्नका लागि उनी राजापुरको बाटो जानुपरे सत्ती पुल प्रयोग गर्छन्। नभए त्यही सन्कट्टीमा सञ्चालन हुँदै आएको डुङ्गा ।
“दैनिक बर्दिया जाँदा खर्च बढेको छ भने जोखिम पनि उत्तिकै छ”, चौधरी भन्छन्, “आफूले चाहेको बेला डुङ्गा पाइँदैन । साँझ समयमा पुग्नुपर्छ भने बिहान समय मिलाएर पुग्नुपर्छ ।” पुल निर्माणको खबरले टीकापुर र बर्दियाको दूरी छोटो बनाउने विश्वास चौधरीले व्यक्त गरे।
सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण भएपछि दुई प्रदेश तथा टीकापुर र बर्दियाको व्यावसायिक सम्बन्ध स्थापित हुने अनुमान गरिँदै आएको छ । सन्कट्टीमा पुल निर्माणकै लागि कैयौं पटक बहस र छलफल भएको थियो भने सङ्घीय सरकार समक्ष ‘डेलिगेशन’ पनि पुगेको थियो ।
विसं २०७४ मा सुदूरपश्चिम प्रदेश सरकारले पुल निर्माणलाई बहुवर्षीय योजनाका रूपमा अघि सारेको थियो । तर, दुई प्रदेशसँगको विषय भएका कारण प्रदेशको त्यो योजनाले काम गर्न नसकेको सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावल बताउँछन्।
“पुलका लागि निकै मेहनत गर्नुपर्यो । कहिले सङ्घीय सरकार त कहिले प्रदेश सरकारसँग समन्वय र सहकार्य भयो”, डा रावलले भने, “अन्तत: सङ्घीय सरकारले हाम्रो आवाज सुनेको छ । अब टीकापुर र बर्दियाको व्यापारिक सम्बन्धलाई मजबुत बनाउने अपेक्षा लिएका छौं ।”
व्यापारीहरूको संस्था टीकापुर उद्योग वाणिज्य सङ्घले पनि पुल निर्माणको पहल गर्नका लागि महोत्सवको आयोजना गर्यो । महोत्सव सम्पन्न भयो तर, पुल निर्माणको योजनाले पूर्णता पाउन सकेन । अहिले पुल निर्माणका लागि सङ्घीय सरकारले रसुवा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेर काम अगाडि बढाएको छ । गएको मंसिरमा भएको सम्झौताअनुसार ५३ महिनामा पुल निर्माण गरिसक्नुपर्ने छ ।
करीब एक अर्बभन्दा बढीको लागत रहेको उक्त पुल सात सय ५० मिटर लम्बाइको रहने निर्माण कम्पनीका इञ्जिनियर कृष्ण ढुङ्गेलले बताए। “सम्झौता भएपछि स्थलगत अध्ययन गरेर डिजाइनको काम भइरहेको छ । डिजाइनको काम सकिएपछि लगत्तै काम सुरु गर्छौं”, उनले भने, “सम्भवत: एक डेढ महिनामा डिजाइनको काम सम्पन्न हुन्छ होला । त्यो समयसम्म कर्णाली नदीमा पानीको बहाव नबढे काम सुरु गर्छौं, नभए बर्खापछि काम सुरु हुन्छ ।”
टीकापुर नगरपालिका-२ का वडाध्यक्ष दीपक चौधरीले टीकापुरका लागि सनक्ट्टीको पुन निकै महत्वपूर्ण हुने बताए। उनले टीकापुर र बर्दियाको सम्बन्ध निकै नजिक रहेको बताउँदै दैनिक सयौं नागरिकले डुङ्गाको सहारामा कर्णाली वारपार गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे।
“वर्षौंदेखि त्यही एउटा सपना थियो सन्कट्टीमा पक्की पुल । जसका लागि कैयौंपटक राज्यका अधिकांश निकायमा पुगेका थियौं”, वडाध्यक्ष चौधरीले भने, “आज त्यो राज्यले सुनेको छ । नागरिक खुशी छन् । पुल निर्माण भएपछि टीकापुरको व्यवसायमा टेवा पुग्ने विश्वास छ ।”