चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खेलकूदलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन्।
आजदेखि पटिहानीमा सुरु भएको नेपाल कराँते महासङ्घको महाधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले खेल क्षेत्र देशको मात्रै नभएर अन्तर्राष्ट्रिय गौरवको विषय भएको बताए। उनले भने, “खेल क्षेत्रको विकासका लागि सरकार लागिपरेको छ । खेलकूदका क्षेत्रमा बजेट बढाउन सरकार लागेको छ ।”
खेलकूदका क्षेत्रमा लगानी बढाउन सके यस क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा गौरव बढाउने उनले बताए । पछिल्लो समय खेल क्षेत्रमा नेपालको प्रगतिले सरकारलाई लगानी गर्न बाध्य बनाएको बताउँदै उनले खेलकूद क्षेत्र चलायमान हुन आवश्यक रहेको बताए।
विगत १० वर्षदेखि अधिवेशन हुन नसकेको कराँते महासङ्घले अधिवेशनपछि आफ्नो गतिविधि बढाउनेमा उनले विश्वास व्यक्त गरे । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटनसँग खेललाई जोडेर अघि बढाउनुपर्ने बताइन्।
देशमा खेल क्षेत्रले फड्को मारिरहेको समयमा कराँतेले पनि सोहीअनुसार विकास गर्न सक्नुपर्ने उनको भनाइ थियो । सो अवसरमा राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव टङ्क घिसिङ, भरतपुर महानगरपालिका-२२ का वडाध्यक्ष विष्णुराज महतो र कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायतले बोलेका थिए।
महाधिवेशनमा देशभरमा ७६ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरूले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना कार्यसमिति सदस्यसहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
यस्तै, हरेक प्रदेशले एक-एक जना केन्द्रीय सदस्य प्रदेशले नै छानेर पठाउने छ ।