विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते पदम लिम्बू लागेहाङको उपचारको क्रममा निधन भएको छ ।
टाउकोमा चोट लागेका उनी गत मंगलबार राति उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । लिम्बूको बिहीवार राति २ बजे उपचारको क्रममा मृत्यु भएको पदमका भाइसमेत रहेका मोरङको बेलबारी नगरपालिका-२ का वडा सदस्य दिपेन्द्र खजुम लिम्बुले बताए ।
विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्यास प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते लिम्बूको टाउकोमा गम्भीर चोट परेको मृतकका आफन्तले बताएका छन् ।
घटनाको जिम्मा प्रदेश १ का ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री प्रचण्ड एवं नेपाल प्रहरीले लिनुपर्ने भन्दै प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विज्ञप्तिमार्फत लिम्बूको हत्या भएको र अनुसन्धान गर्न छानबिन आयोग गठनको माग गरेको छ । उनलाई शहीद घोषणा गर्नुपर्ने पनि माग राखिएको छ ।
बीपी प्रतिष्ठानको आईसीयूमा उपचाररत् पदमलाई थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको बेला मृत्यु भएको समितिले जनाएको छ ।
लाजेहाङको शव अहिले बीपी प्रतिष्ठानको शवगृहमा राखिएको छ ।