सिन्धुली । सिन्धुलीमा बेग्लाबेग्लै स्थानमा दुई नाबालिकामाथि हाडनाता भित्रकै व्यक्तिबाट करणी गरिएको छ ।
११ वर्षीया बालिकामाथि निजकै काका नाता पर्ने वर्ष १८ का किशोरीले धेरै अगाडिदेखिनै जबरजस्ती करणी गर्दै आएको खुलेको छ । किशोरले बालिकालाई ललाई फकाई अनैतिक कार्य गर्न उक्साउने र हामी दाजु बहिनी पर्छौ भनि पीडितले भन्दा समेत मार्नेसम्मको धम्की दिँदै पटक पटक करणी गर्दै आइरहेको खुलेको हो ।
उनले अन्तिम पटक फाल्गनु २७ गते घरमा जबरजस्ती करणी गर्दै गरेको अवस्थामा आफन्तले देखेपछिमात्र घटना बाहिरिएको हो ।
पीडित बालिकाको आमाले चैत २ गते ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा जाहेरी दरखास्त दिएकोपछि किशोरीलाई पक्राउ गर्ने अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले केटिएम दैनिकलाई बताए ।
त्यस्तै आफ्नै बुवाबाट करणीमा परेको भन्दै १३ वर्षीया नाबालिकाको आमाले प्रहरीमा जाहेरी दिएकी छिन् । बाबुले कुटपिट गर्दै जबरजस्ती करणी गर्दै आइरहेको खुलेको छ ।
पीडित बालिकाको आमाले चैत २ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दरखास्त दिएपछि पीडितको बाबुलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए ।
नेपाल प्रहरीमा विगत पाँच आर्थिक वर्षको तथ्याङ्क केलाउने हो भने हाडनाताबाटै एक हजार बढी महिला तथा बालिकामाथि करणी भएको देखिन्छ । यो क्रम पछिल्ला आर्थिक वर्षहरूमा बढ्दै गइरहेको छ ।