झापा । गौरादह नगरपालिका-१ गौरादह बजारस्थित घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय रुद्र भण्डारीसमेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा कौडा खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरुलाई ४५ हजार ९ सय ४५ रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
कानुनमा के छ ?
नेपालको कानुनले जुवातास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।
उक्त दफा को उपदफा १ को (क) मा भनिएको छ पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र वा तीसहजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
त्यस्तै (ख) मा लेखिएको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटके पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।