काठमाडौँ । भारतका राष्ट्रपति द्रौपदी मुर्मु र नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबीच आज साँझ टेलिफोन वार्ता भएको छ ।
हाल केरला भ्रमणमा रहेकी भारतकी राष्ट्रपति मुर्मुले नेपालका नवनिर्वाचित राष्ट्रपति पौडेललाई फोन गरी बधाई दिएकी हुन् ।
टेलिफोन वार्तामा नेपाल र भारतको सम्बन्धको विषयमा कुराकानी भएको भारतीय राष्ट्रपति कार्यालय जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूबीच द्विपक्षीय सहयोगलाई अझै अगाडि बढाउने र दुई देशका जनताबीचको मित्रताको भावना थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल भएको बताइएको छ ।
राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मुले विश्वास व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ ।