काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रवार सम्पन्न मतदानबाट निर्वाचित भएका रामसहाय प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिइएको छ ।
संसद भवनमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा-८ बसवरियामा उनको जन्म भएको हो । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै, श्रीमती दुई छोरा र एक छोरी छन्।
आज भएको निर्वाचनमा यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सासंदको मत पाएका थिए । उनको कूल मतभार ३० हजार ३२८ रहेको छ ।
यादव विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव थिए। यादव गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन्।
प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत अन्य दलका नेताहरूको सहभागिता रहेको थियो ।