काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने हुती नराख्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै, अध्यक्ष ओलीले गठबन्धनभित्र एक अर्काको बारेमा औँला उठाउने ठाउँ नभएको र आफ्ना आफ्ना मिलेर नै भ्रष्टाचार गरिरहेको आरोप लगाए ।
उनले कसैलाई कारबाही गर्न खोज्यो भने सरकारमा बस्नेहरूलाई नि अरूले तपाई चैँ भनेर प्रश्न सोध्ने भन्दै अहिलेको सरकारमा रहेकाहरू नै भ्रष्टाचारमा लिप्त रहेको तर्क गरे ।
उनले भने ‘२१ औँ शताब्दीमा डेमोक्रेसि भन्नेहरू, मेरो पार्टीको सांसदले त्यस्तो गरेको छ भने ठाडो कारबाही गर्छु । जो सुकै होस् । गठबन्धनले हो भने कारबाही गर्ने हुती नै राख्दैन । किन भने यसो हेर्छ तपाईँलाई कारबाही गर्न पर्यो भन्यो भने तपाईँलाई नि भन्ने उत्तर आउँछ । तपाईँलाई नि त भनेर सोध्ने गर्छन् । तपाईँको श्रीमतीले भ्रष्टाचार गर्नु भयो नि भन्दा तपाईँले छोरी मार्फत गर्नुभयो भन्ने उत्तर आउँछ ।’
उनले एमाले सरकारबाट हटेकैले डेढ वर्षमा अर्थतन्त्र, राजनीति र सामाजिक अवस्था निकै नाजुक भएको ठोकुवा गरे । भ्रष्टाचार नियन्त्रणका लागि प्रत्येक कर्मचारीले शेयर पाउनु पर्ने उनको भनाई छ ।