काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापा र रोल्पाबाट एक/एक जनालाई पक्राउ गरेको छ ।
२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको गौरादह नगरपालिका-५ बस्ने ३६ वर्षीय चन्द्र बहादुर चेम्जोङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चेम्जोङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी महारानीझोडा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै रोल्पामा ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनछहरी गाउँपालिका-७ जेलबाङ बस्ने ४० वर्षीय धनिमान रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । रोकाले ती महिलालाई गत माघ २८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेल्वाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनामा प्रहरीले अनुसन्धान जारी राखेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।