
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई फेरि सरकारमा ल्याउने तयारी भइरहेको बताएकी छिन् ।
आज मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले यसबारे जानकारी दिएकी हुन् । निर्णय सुनाइसकेपछि पत्रकार अशोक अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा सोधेको प्रश्नको जवाफ दिदै उनले रास्वपालाई पुन: सरकारमा ल्याउने तयारी भइरहेको दाबी गरेकी हुन् ।
उक्त पार्टीले सरकारलाई दिएको समर्थन यथावत राखेकाले सरकार सङ्कटमा नरहेको बताउँदै उनले रास्वपालाई फेरि सरकारमा ल्याउन राजनीतिक ढङ्गबाट पहल गरिएको बताइन् ।
उनले भनिन्, ‘उहाँहरूले सरकार छाड्नुभयो त्यो उहाँहरूको पार्टीको विषय हो । हाम्रो गठबन्धन पनि छ । त्यसलाई जोगाएर जानुपर्नेछ । प्रधानमन्त्रीज्यूले गठबन्धनलाई जोगाएर जानको लागि उहाँहरूसँग थप छलफल गरेर रास्वपालाई पुन: सरकारमा सहभागी गराउने तर्फ पहल भइरहेको छ ।’
चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार सरकारबाट बाहिरिएको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
यस पार्टीबाट सरकारमा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की ले प्रधानमन्त्री सामू राजीनामा दिइरहेका छन् र राजीनामा स्वीकृत समेत भइसकेको छ ।
सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले यदी समर्थन फिर्ता लिएको भए प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्थ्यो । तर, रास्वपाले समर्थन कायम राखेकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत भने लिनुपर्ने अवस्था भने आएन ।

नेपालको संविधान धारा १०० को उपधारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । जस कारण रास्वपा सरकारलाई दिएको समर्थन कायम राख्दै बाहिरिँदा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने देखिँदैन ।