
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक बनमा आगलागी भएको छ ।
बजार र बस्ती नजिकै रहेको बन क्षेत्रमा आज दिउँसो अचानक भएको आगलागी नियन्त्रणमा आएको छैन । आगलागी सुरु भएलगत्तै यहाँस्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयवासीले बस्तीतर्फको भागमा अघि बढेको आगो निभाएका थिए । समयमै अग्नि रेखा बनाएर आगो निभाइएपछि कफी हाउस लाइनको बस्ती जोगिएको छ ।
आगलागी क्षेत्रमा सल्लाका मात्रै रुख भएकाले छोटो समयमै आगो ठूलो क्षेत्रमा फैलिएको थियो । पूर्वतर्फको भागमा अझै पनि आगो सल्किरहेको स्थानीयवासीले बताएका छन् । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय बासिन्दा खटिएका थिए । आगो लागेको क्षेत्रमा सडकसमेत रहेकाले दमकलको समेत प्रयोग भएको छ ।
आगलागीको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगो नियन्त्रणमा नआउँदासम्म सुरक्षाकर्मी नियन्त्रणमै खटिने प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्लाका ग्रामीण भेगका बनजङ्गलमा समेत आगलागी हुन थालेका छन् ।