
फिल्म ‘कान्तारा’बाट विश्वभर सनसनी मच्चाउने अभिनेता तथा निर्देशक ऋषभ शेट्टी अब छिट्टै यही फिल्मको पहिलो भाग अर्थात् प्रिक्वेल लिएर आउँदैछन् । शेट्टीले प्रिक्वेलसँग सम्बन्धित जानकारी सामाजिक सञ्जालबाट सेयर गरेका छन् ।
जम्मा १६ करोड भारुको बजेटमा बनेको ‘कान्तारा’ देवताको मिथकको कथा थियो, जुन यसअघि कन्नड भाषामा मात्रै रिलिज भएको थियो । तर फिल्मले पाएको अत्यधिक प्रतिक्रिया र मागका कारण भारतभर रिलिज भएको हो । फिल्मले झण्डै ४५० करोड कमाउन सक्यो ।
त्यसबेलादेखि प्रशंसक कान्ताराको अर्को भागको उत्सुकताका साथ पर्खिरहेका थिए । अर्को भागको कथा के होला भनेर जान्न उत्सुक थिए । तर ऋषभ शेट्टीले फिल्मको अर्को भाग नभएर पहिलो भाग लिएर आउने जनाएका छन् । अर्थात् ‘कान्तारा’ मा जुन कथा देखाइएको थियो, त्यसको अगाडिको कथा पहिलो भागमा देखाइनेछ ।
‘कान्तारा’ले हलमा रिलिज भएको १०० दिन पूरा गरेको बताइएको छ । यो फिल्म अहिले पनि भारतका धेरै हलमा प्रदर्शन भइरहेको छ । फिल्मले १०० दिन मनाएपछि निर्माताले ‘सक्सेस पार्टी’ गरेका थिए । यस क्रममा ऋषभले ‘कान्तारा’ को प्रिक्वेलको कथा लेख्न थालेको बताए ।