
इस्ताम्बुल । टर्की र सिरियाको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार ७.८ म्याग्निच्युडको सो भूकम्पमा परी हजारौँ मान्छेहरू घाइते भएका छन् ।
मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भूकम्पले हजारौँ घरहरू ध्वस्त बनाएको छ । टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।
उता सिरियामा ९७८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीन वटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।
भू कम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् । यसै बीच टर्कीले राहत र उद्धार कार्यमा सहयोग गर्न विश्व समुदाय सँग आग्रह गरेको छ ।
टर्कीले स्तर ४’ अलार्म जारी गर्दै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । टर्कीको प्रकोप र आपत्कालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।