
रुखबाट लडेर बझाङ् र पाँचथरमा एक/एक जनाको निधन भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बझाङमा एक महिला र पाँचथरमा एक पुरुषको रुखबाट लडेर निधन भएको हो ।
बझाङको खप्तडछान्ना गाउँपालिका-१ कौवागडी बस्ने ५४ वर्षीया धनलक्ष्मी देवीको रूखबाट लडेर सोमबार बिहान मृत्यु भएको छ । आफनै घर नजिक भिमलको रुखमा घाँस काट्ने क्रममा रूखबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै पाँचथरको कुम्मायक गाउँपालिका-४ रानीगाउँ तिल्केनी टोल घर भई फिदिम नगरपालिका-५ चोक्मागु बस्ने रामकुमार तुम्बापोको घरमा बस्दै आएका ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फेको रूखबाट लडेर सोमबार बिहान मृत्यु भएको छ । चोक्मागुस्थित पिपलको रूखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा मृत्यु भएको हो ।