सर्लाही । चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ ।
वडा नं. ७ स्थित नाढीमन ताल परिसरमा आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए। उनका अनुसार सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न बालिका सम्मेलन २०७९ आयोजना गर्न लागिएको हो ।
बालिका सम्मेलन २०७९ मा पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाको सहभागिता तथा तीनवटै तहका बालविवाह, दाइजो र शिक्षासम्बन्धी सवाल केन्द्रित प्राविधिक संवाद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
‘बालविवाह र दाइजोविरुद्धका योद्धालाई सम्मान, प्रत्येक विद्यालयमा बालविवाहको अन्त्य विषयक’ वक्तृत्वकला प्रतियोगिता र उत्कृट आर्ट पेन्टिङको प्रदर्शनी, पालिका र जिल्लास्तरमा बालविवाहको अन्त्यका लागि भएका सकारात्मक प्रयास, प्रगति र चुनौती एवं विकासका साझेदार, बालअधिकारकर्मी, प्रदेश सरकार तथा सङ्घीय सरकारले गरेका पहल र अगामी कार्यदिशा लगायतका विषयमा विभिन्न प्राविधिक वैज्ञानिक सत्रलाई सम्मेलनको मुख्य आकर्षणका रुपमा प्रस्तुत गरिने पालिकाले जनाएको छ ।
मधेस प्रदेशमा बालविवाह र दाइजो प्रथा विकृतिका रुपमा रहेको छ । त्यसका कारण घरेलु हिंसाका घटना अत्यधिक हुने गरेका सरोकारवाला निकायले तयार पारेको तथ्याङ्कमा उल्लेख छ ।