काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताए ।
“पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारका गर्ने व्यवस्था गर्ने प्रबन्ध गरियो, बजेटमा पनि प्रस्तुत गरियो”, उनले भने, “तर, अहिले पनि प्रभावकारी रुपमा व्यवस्थापन हुन सकेको छैन ।” सरकारले पत्रकारका लागि दुर्घटना बीमामा सरकारले ५० प्रतिशत तिर्ने व्यवस्था पनि सरकारले गरेको अर्को महत्वपूर्ण काम भएको उल्लेख गर्दै उनले श्रमजीवी पत्रकारको पक्षमा सरकार सदैव रहेको स्पष्ट पारे ।
नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका पौडेलले सरकारले सञ्चार क्षेत्रसँग जोडिएर बीमा, क्लिन फिडजस्ता महत्वपूर्ण व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए । श्रमजीवी पत्रकार व्यक्तित्व विकास र नेतृत्व विकासमा चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले जनता र राष्ट्रको न्यायको पक्षमा पत्रकारिताको अगुवा भएर काम गर्न आग्रह गरे ।
नेकपा (एमाले) का उपमहासचिव एवं चौतारीका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले सबैभन्दा योग्य र भरोसायुक्त श्रमजीवीहरुको सङ्गठनका रुपमा चौतारीलाई विकास गर्नुपर्नेमा जोड दिए। चौतारीको स्थापना दिवसका अवसरमा डा. बालकृष्ण चापागाईंलाई यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार लमजुङका पत्रकार कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई प्रदान गरिएको छ । सावित्री–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्टलाई उपप्रधानमन्त्री पौडेलले प्रदान गरे ।