
चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
पार्टीको बैठकअगाडि निवर्तमान गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।
सर्वोच्चको फैसलाले पार्टी सभापति लामिछानेको सासंद पद खारेज गरेपछि अहिले रास्वपाका १९ जना सासंदहरू छन् । आजको संसद बैठकमा रास्वपाका सासंदहरू कोही पनि उपस्थित भएका थिएनन् ।
यस पार्टीबाट सरकारमा एक राज्यमन्त्री सहित तीन मन्त्री सहभागी छन् । मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको बुझिएको छ ।
सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन्। मन्त्रीद्वय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा गोपनीयताको शपथ लिएका थिए ।