
पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।
पर्वतको सदरमुकाम कुश्माबजारमा सञ्चालित सातौँ पर्वत महोत्सवको समापनका अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले आयातित वस्तुको बिक्री वितरणले मुलुक समृद्ध हुन नसक्ने बताउँदै गण्डकी प्रदेश सरकारले स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिने बताएका हुन् ।
उनले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि, लघुउद्यम तथा वनजन्य उद्योगबाट उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि प्रदेशले विशेष योजना बनाउने बताए । अहिले आर्थिक सङ्कटले चौतर्फी क्षेत्र समस्यामा परेको बताउँदै उनले फजुल खर्च रोकेर मितव्ययीता अपनाउन निजी क्षेत्रलाई सचेत गराए।
आफूले मन्त्रालयको सङ्ख्या घटाएर खर्च कम गर्न थालेको बताउँदै उद्योग, पर्यटन तथा कृषि क्षेत्रको विकास र विस्तारबाट समृद्धि हासिल गर्न सकिने बताए । मेला-महोत्सवमा विदेशी वस्तुको व्यापारलाई भन्दा स्थानीय उद्यमी तथा कृषकले उत्पादन गरेका वस्तुको व्यापारलाई जोड दिनसमेत उनले आग्रह गरे ।
महोत्सव माघ ११ देखि सुरु भएको थियो । महोत्सवमा आयोजित सबै प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री अधिकारीबाट पुरस्कार वितरण गरिएको थियो । महोत्सवमा झण्डै रू पाँच करोडको कारोबार भएको आयोजकको अनुमान छ ।