
सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको आरोप लगाएका छन् ।
शनिवार काठमाडौँमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको बताए ।
वैदेशिक रोजगार कम्पनी भएकाहरू श्रम मन्त्री, एकदम महँगो निजी स्कुल भएकाहरू शिक्षामन्त्री रहेको र नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धितलाई गृह मन्त्री बनाउन खोजिएको उनको आरोप छ । ‘के देशमा साँच्चै सुशासन आउन लागेको हो? हामीले बहुदलीय व्यवस्था ल्यायौँ। गणतन्त्र ल्यायौँ । यसको अभीष्ट के थियो ? यत्रो मानिसहरूले रगत बगाए,’ उनले प्रश्न गरे ।
उनले काँग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद् सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे ।