
बर्दीया । बर्दीयामा एक महिलामाथि उनकै घरमा सोही वडाका वडाध्यक्षले जबरजस्ती करणीको प्रयास गरेका छन् ।
जिल्लाको बाँसगढी नगरपालिका-८ का वडाध्यक्ष तुल प्रसाद गौतमले सोही वडामा बस्ने ४८ वर्षीया एक महिलालाई उनकै घरमा बुधवार बेलुका ९:३० बजे जबरजस्ती करणीकाे प्रयास गरेका हुन् ।
आज पीडित भनिएकी महिलाका श्रीमानले जाहेरी लिएर इलाका प्रहरी कार्यालय बाँसगढीमा पुगे पनि जाहेरीमा स्पष्ट कुरा नलेख्दा दर्ता हुन सकेन ।
जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले केटिएम दैनिकलाई बताएअनुसार जाहेरीमा जबरजस्ती करणी उद्योग शीर्षक लेखिएता पनि पेटबोलीमा मुलुकी अपराधसंहिता २०७४ को दफा २२४ लगाएको हुनाले यौन दुर्व्यवहार हो वा जबरजस्ती करणी प्रयास के हो भन्ने छुट्याउन नसक्दा जाहेरी दर्ता नभएको हो ।
प्रहरी स्रोतका अनुसार पीडकहरू हिजो पनि इलाका प्रहरी कार्यालय पुगेर निवेदन दिएका थिए । प्रहरीले जाहेरी लिएर आउन भनेपछि आज उनीहरू जाहेरीसहित प्रहरी कार्यालय पुगेका हुन् ।
जाहेरीमा जबरजस्ती करणी उद्योग वा यौन दुर्व्यवहार के कुरा हो स्पष्ट छुट्याएर ल्याउने अथवा सिधै अदालतमा सरकारी वकिलमार्फत मुद्दा दर्ता गर्न भनिएको प्रहरी स्रोत बताउँछ ।
घटना के हो ?
पीडित भनिएका परिवारको नाममा रहेको जग्गा वडाध्यक्षले किन्ने भनेर लामो समयदेखि कुरा चलिआएकोमा सोही विषयमा कुरा गर्न वडाध्यक्ष बुधवार बेलुका उनीहरूको घरमा पुगेका थिए ।
जग्गाको विषयमा छलफल गर्न बुधबार बेलुका ७:३० बजे पुगेका वडाध्यक्षले छलफलपछि खाना खान भान्सा घरतर्फ जाने क्रममा पीडित महिलालाई पछाडिबाट संवेदनशील अंग समातेको जाहेरीमा उल्लेख छ ।
महिलाले यो के गरेको भनेर चिच्याएपछि घरका सबैले सुनेर के भयो भनी हल्ला गरेपछि वडाध्यक्ष मोटरसाईकल लिई भागेका बताइएको छ ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट बाँसगढी नगरपालिका-८ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेपालको कानुनअनुसार जबरजस्ती करणी प्रयास र यौन दुर्व्यवहार फरक कुरा हुन् ।
मुलुकी अपराध संहिता २२४ का अनुसार कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिने उल्लेख छ ।

यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनमा स्पष्ट रुपमा लेखिएको छ ।
यसबारे बुझ्न वडाध्यक्ष गौतमलाई फोन गर्दा उनकाे मोबाइल स्वीच अफ थियाे ।