
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको उक्त पार्टीबाट अहिलेसम्म कोहीपनि सरकारमा समावेश भएका छैनन् । मन्त्रीमण्डल विस्तारको क्रममा जसपाको लागि दुईवटा मन्त्रालय खाली राखिएको भएतापनि उपराष्ट्रपति पद आफूले पाउनुपर्ने भन्दै जसपा सरकारमा सहभागी भएको छैन ।
बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले संघीयताविरोधी षड्यन्त्र भइरहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् ।
अध्यक्ष यादवले संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिने बताए ।
जसपाबाट संघीय संसदमा सात जना प्रत्यक्ष निर्वाचित र पाँच जना समानुपातिक गरी कूल १२ सासंद छन् । जसपा अध्यक्ष यादव भने संघीय निर्वाचनमा पराजित भएका हुन् ।