सहजपुर । कैलालीको अत्तरिया बजारमा जथाभावी राखिएका तारका कारण जोखिम बढेको छ । बजारमा राखिएका विद्युतीय पोलमा जथाभावी राखिएका तारका कारण आगलागीलगायतका विभिन्न जोखिम बढेको हो ।
नेपाल टेलिकमले फाइबर तार जडानका लागि हालेका पोलमा अहिले अन्य इन्टरनेट प्रदायक कम्पनीले आफ्ना तार राखेका छन् । व्यवसायी महेश ओझाले टेलिकमको पोलमा रहेका तारका कारण व्यवसाय सञ्चालनमा समस्या बढ्न थालेको बताए ।
उनले एक ठाउँमा घटना घटे त्यो पूरै सहरभरि नै फैलन सक्ने गरी तार जडान भएका कारण थप जोखिम रहेको बताए । “सम्बन्धित निकायले व्यवस्थापन गरिदिए राम्रो हुन्थ्यो”, उनले भने, “पसलकै अगाडितिर लट्किएको अवस्थामा तार रहेका छन्, त्यसले व्यवसाय गर्न झन् समस्या हुने गरेको छ ।”
उनले गुच्छाजस्तो रूपमा तार एकै ठाउँमा रहेकाले आगलागीको चिन्ताले सताउने गरेको बताए । “मैले करिब २० वर्षदेखि यो ठाउँमा व्यापार गर्दै आएको छु, पहिला यस्ता तार थिएनन्”, उनले भने, “अहिले विभिन्न नेटका कारण तार बढेका छन्, त्यसकारण कतै अप्रिय घटना घटिहाल्छ कि भन्ने चिन्ताले सताइरहन्छ ।”
अर्का व्यवसायी डम्बर खड्काले पोलमा रहेका तार व्यवस्थापन गरिनुपर्ने बताए । “व्यवसाय नै सञ्चालन गर्न नपाइने भन्ने होइन, तर नभएका पोलमा मिलाएर राख्ने गरी तार राखेको भए राम्रो हुन्थ्यो”, उनले भने। उनले बजारको सुन्दरता पनि रहने, व्यवसाय पनि गर्न सकिने र दुर्घटना हुनबाट पनि बच्न सकिने तरिकाले तारको व्यवस्थापन गरिनुपर्ने बताए।
गत वर्षमात्रै अत्तरियाचोक नजिकै रहेको एउटा पोलमा आगलागी भएको थियो । पुस महिनामा भएको आगलागीबाट पोलमा भएका तार सबै जलेर नष्ट हुँदा बजारका विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । समयमै जानकारी पाइँदा आगालागीले ठूलो रूप लिन नसके पनि एक किसिमको चिन्ता भने पैदा गरेको व्यवसायी लीलाराम सापकोटाले बताए । “सबै सम्बन्धित निकायलाई व्यक्तिगत भेटेरै जानकारी गराइसकेको छु”, उनले भने ।
उनले जानकारी गराएका सबैले केही समयपछि अन्डरग्राउण्ड तार राखिने बताएको भए पनि कहिलेसम्म राख्ने भन्ने निश्चित नभएको बताए। पहाडरोडस्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयको छेवैमा त झन् उक्त तारले सडक किनार नै छोएको छ । विद्यार्थीको अधिकतम चाप हुने उक्त स्थानमा रहेका तारले कुन दिन अप्रिय घटना घट्छ भन्ने चिन्तामा विद्यालय प्रशासन छ ।
विद्यालयका अध्यक्ष गणेश शाहले तारका कारण विद्यालयको बसलाई आवतजावतमा समस्या भइरहेको बताए । उनले तार व्यवस्थापनका लागि नेपाल टेलिकमसँग आग्रह गर्दा टेलिकमले आफ्नो तार व्यवस्थापन गरे पनि अन्य इन्टरनेट प्रदायक कम्पनीले भने अटेरी गरेको बताए।
नेपाल टेलिकमका अत्तरिया इन्चार्ज भजनसिंह चौधरीले टेलिकमले प्रयोग गरेसम्म प्रयोग गर्न पाउने गरी इन्टरनेट प्रदायक कम्पनीसँग सम्झौता भएको बताए । उनले आफूहरूले विद्युत् प्राधिकरणको पोलमा टेलिकमको फाइबर तार जडानकार्य गरिरहेकाले उक्त पोलहरूको उत्तरदायित्व आफूहरूको नभएको बताए ।
“हामीले त्यस्ता कम्पनीसँग हाम्रो टेलिकमले प्रयोग गर्ने अवधिसम्मका लागि मात्रै भनेर सम्झौता गरेका छौँ”, उनले भने, “अहिले हामीले विद्युत् प्राधिकरणलाई निश्चित कर बुझाउने गरी विद्युत्का पोलमा तार जडान गरिरहेका छौँ, पुराना पोलबाट हामीले हटाउने काम गरिरहेका छौँ ।”
उनले पुराना पोलका केही स्थानमा भने अझै पनि टेलिकमको तार रहेको र उक्त तार हटाउनका लागि बोलपत्र आह्वान गर्ने विषयमा छलफल भइरहेको बताए । चौधरीले सम्झौताअनुसार टेलिकमले प्रयोग गर्न छाडिसकेपछि स्वतः इन्टरनेट प्रदायक कम्पनीसँगको सम्झौता खारेज हुने बताए ।
उनले त्यस्ता इन्टरनेट प्रदायक कम्पनीसँग प्रयोग गरिएका पोलका आधारमा शुल्क लिने गरेको पनि बताए।