
क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्व परेको रिटको सुनुवाई भोलि शुक्रबार हुने भएको छ ।
उच्च अदालतको आदेशविरुद्व महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो । महान्यायधिवक्ताको कार्यालयले सन्दीपलाई रिहा गर्ने आदेश बदर गर्न माग गर्दै कारागारमै राखेर अनुसन्धान गर्न माग गरिएको छ ।
जबरजस्ती करणीमा सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी परेपछि २० असोजमा प्रहरीले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई असोज १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, त्यसविरुद्ध लामिछानेले उच्च अदालत, पाटनमा पुनरावेदन गरेपछि उच्च अदालतले पुष २८ गते उनलाई २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दिएको थियो । त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका छन् ।
लामिछानेलाई उच्च अदालतले पासपोर्ट रोक्का गर्दै विदेश जान रोक लगाएको छ भने काठमाडौंबाहिर जाँदा समेत प्रहरीलाई लिखित जानकारी दिनुपर्ने अदालतको आदेशमा उल्लेख छ ।