
झापा । दमक नगरपालिका-२ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन्।
ब्राउन सुगर बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा बुधबार दिउँसो नयाँ आम्दा खरखरे टोल पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दमक-८ का ३७ वर्षीय तेजकुमार खवास, ३५ वर्षीय सुनिल श्रेष्ठ र दमक-२ का २२ वर्षीय विजय धिमाल छन्।
लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीले १९ ग्राम ब्राउन सुगर, नगद ९७ हजार ६ सय रुपैयाँ, ४ थान मोवायल र को. २८ प ३१४६ नम्बरको स्कुटर, प्रदेश १-०२-०४८ प ६६५७, ज. १२ प ५५५७ नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।
यता, मोरङ्गको विराटनगरबाट प्रतिबन्धित औषधिसहित एकजना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट पथरी शनिश्चरे २ का २५ वर्षीय विवेक मोते पक्राउ परेका हुन् । बुधबार दिउँसो भारत जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनी पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी पोष्ट मटेरुवाको प्रहरी टोलीले शंका लागि जाँच गर्ने क्रममा पक्राउ गरिएको जनाएको छ । मोतेको साथबाट प्रहरीले लुपिजेसिक ४९ एम्पुल, एभिल ५१ एम्पुल, फेनारगन ५१ एम्पुल र डाईजोपाम ५१ एम्पुल सहित २०२ एम्पुल बरामद गरेको छ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।