
नेकपा (एस) निकट अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजी कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्र भित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजी कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको र जनक शिक्षा सामाग्री केन्द्रले नै पाठ्यपुस्तक छाप्नु पर्ने, शैक्षिक सामाग्री समय मै पुर्याउनु पर्ने बताए।
हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधानका लागि निजीलाई पनि पाठ्यपुस्तक छपाई को जिम्मेवारी दिइएको सरकारले जनाएको छ।
नेकपा (एस) निकट अनेरास्ववियूका प्रवक्ता मिलन राईले शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहने, त्यस्ता भ्रष्टाचार विरुद्ध कडा प्रतिवाद, प्रतिकार गर्ने केटिएम दैनिकसँग बताए ।
यसअगाडि सोही सङ्गठनले पाठ्यपुस्तक निजी कम्पनीलाई छाप्न दिने विषयको विरोधमा आरआर क्याम्पसमा शिक्षामन्त्रीको पुतला दहन गरेको थियो ।
शिक्षा मन्त्रालयले पुष २९ गते शैक्षिक सत्र २०८० का लागि देशभर कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेको थियो ।