नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।
नेपाल टी-ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएको क्यानका एक पदाधिकारीले बताए । मल्ल असोज २१, २०७८ मा क्यानको सचिवमा नियुक्त भएका थिए । उक्त समयमा निवर्तमान सचिव अशोकनाथ प्याकुर्यालले पदबाट राजीनामा दिएपछि क्यानले सो पदमा मल्ललाई नियुक्त गरेको थियो ।
उनको राजीनामा स्वीकृति हुन भने बाँकी रहेको छ । क्यानका सातजना केन्द्रीय सदस्यले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारीको राजीनामा मागेका थिए ।
उनीहरुले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका थिए । तीमध्ये मल्लले राजीनामा दिएका हुन् ।
नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको आरोप लगाउँदै केन्द्रीय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पदाधिकारीको राजीनामा मागेका हुन् ।
राजीनामा दिएर नेपाल टी-२० लिगमा भएको फिक्सिङ घटनाको छानबिनमा सघाउन उनीहरुले आग्रह गरेका छन् ।