
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्
प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ प्रधानमन्त्री दाहाललाई भेट्न रवि बालुवाटार पुगेका हुन् । यसअगाडी प्रम दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।
आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका थिए ।
गत शुक्रबार सर्वोच्च अदालतले नागरिकता मुद्दामा लामिछानेलाई दोषि ठहर गर्दै उनको सासंद र रास्वपाको सभापति पद खारेज गरिदिएको थियो । सर्वोच्चको उक्त आदेशसँग लामिछानेले पदबाट राजीनामा दिएका थिए ।
आज बेलुका नै भएको प्रम दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तामा पनि रवि लामिछानेलाई पुन: गृहमन्त्रालय दिने वा नदिने बिषयमा छलफल भएको बुझिएको छ ।
नेपालको संविधानले गैरसासंद व्यक्ति पनि बढीमा छ महिनाको लागि मन्त्री हुन पाउने व्यवस्था गरेको छ । उता रास्वपाले गृहमन्त्रालय आफ्नो पार्टीले नै पाउनुपर्ने धारणा राख्दै आइरहेको छ ।
गृहमन्त्रालय आफ्नो पार्टीले नपाए सरकारको समर्थन फिर्ता लिने सम्मका कुराहरू बाहिरिएका छन् ।