प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष किशोर श्रेष्ठले निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको मिति राखेर पुरानै नम्बरको नागरिकता पाएकोमा बधाई दिएका छन् ।
बधाई दिने क्रममा उनले चार वर्ष अगाडि आफू प्रेस काउन्सिलको अध्यक्ष हुँदा पत्रकारिताको नियामक निकाय प्रेस काउन्सिलले गरेको विनम्र आग्रहलाई नदुत्कारेको भए कत्ति राम्रो हुने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘४ वर्षअगाडि नै पत्रकारिताको नियामक निकाय प्रेस काउन्सिलले गरेको विनम्र आग्रहलाई नदुत्कारेको भए कत्ति राम्रो हुने थियो ! त्यो संस्थाको प्रमुखका हैसियतमा मैले हात जोडी बिन्ती गरेको थिएँ-कृपया नेपालको नागरिकता, प्रेस पास, कर प्रक्रियासहित सबै नियम पालना गर्नुहोला । ‘
उक्त समयमा लामिछाने सामूहिक गालीगलौजमा उत्रेको समेत श्रेष्ठले बताएका छन् । उनले आफूलाई जन्म दिने आमा आइसियुमा भर्ना भएर जिवनमरणको दोषाधमा रहेको बेला समेत बिरामीलाई आघात पुग्ने गरी जथाभाबी लेखेको समेत स्मरण गराएका छन् ।
उनले लेखेका छन्, ‘तर्क र विधि विधानभन्दा असभ्यताको हद पार गर्न सक्ने केही उन्मादको साथ लिएर उहाँ उल्टै सामूहिक गालीगलौजमा उत्रनुभयो । आइसियुमा भर्ना भएर जीवनको अन्तिम सास गन्दै गरेकी मेरी मातालाई समेत आघात पुग्ने गरी जथाभाबी लेखि नै रहनुभयो । ‘
उनले थपेका छन्, ‘त्यही शोकमा ८४ पूजा (उमेर ७७ वर्ष ७ महिना ७ दिन पुगेको अवसरमा मनाइने नेवारीमा पहिलो जँको पूजाको दुई दिनअगाडि) बित्नुभएकी मेरी महान् जन्मदातालाई म आज झलझली सम्झिरहेको छु ।’