
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ ।
आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए ।
नेपालको संविधानले गैरसासंद व्यक्तिलाई पनि बढीमा छ महिनाको लागि मन्त्री हुन रोक लगाएको छैन । संविधानको त्यही धाराअनुसार रास्वपाले लामिछानेलाई पुन:गृहमन्त्री बनाउन सतारुढ गठबन्धनसमक्ष आग्रह गर्ने तयारी गरेको छ । तर, लामिछानेलाई पुन गृहमन्त्री दिने कुरामा माओवादी केन्द्र सहमत नभएको बुझिएको छ ।
गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।
गत शुक्रबार सर्वोच्च अदालतले नागरिकता मुद्दामा लामिछानेलाई दोषि ठहर गर्दै सासंद पद निलम्बन गरेपछि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुन: प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।
फैसलासँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।
लामिछाने पदमुक्त भएपछि रास्वपाले गृह मन्त्रालयको जिम्मेबारीमा आफ्नै पार्टीबाट कुनै एक सासंदलाई पठाउने तयारी गरेतापनि यस विषयमा सत्ता गठबन्धनमा सहमति छुट्न सकेको छैन । लामिछाने बाहेक उक्त पार्टीबाट गृह मन्त्रालय सम्हाल्न सक्ने अन्य सासंदहरू नै नभएको माओवादी केन्द्रका नेताहरूको बुझाई छ ।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रास्वपालाई गृह मन्त्रालय छाड्न सकारात्मक छैनन् । सत्तारुढ दलहरुमा भागबन्डा हुँदा रास्वपाले गृहसहित ३ मन्त्रालय पाएको थियो ।
निवर्तमान सभापति रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय गएर नयाँ नागरिकता लिइसकेका छन् । उनले नागरिकता लिएपछि फेरि गृहमन्त्री नियुक्त हुनसक्ने बाटो पनि छ तर त्यो सम्भावना न्यून देखिएको छ ।
अहिले प्रधानमन्त्रीले गृहसहित वन तथा वातावरण र खेदकुदमन्त्री आफैं राखेका छन् ।