निवर्तमान गृहमन्त्री रवि लामिछानेले अवैध बनेको पुराना नागरिकता प्रयोग गरी निकालेको नेपाली राहदानी फिर्ता गरेका छन् । नयाँ नागरिकता लिएसँगै उनले पुरानो राहदानी राहदानी विभागमा पुगेर फिर्ता गरेका हुन् ।
लामिछानेले २१ फेब्रुअरी २०१४ (२०७०) मा अमेरिकी नागरिकता लिएका रविले अवैध बनेको नेपाली नागरिकताकै प्रयोग गरेर २०१५ मा नेपाली राहदानी लिएका थिए । आफूलाई अनावश्यक भएको र राख्न नसकिने राहदानी फिर्ता गर्न सकिने प्रावधान रहेको छ ।
अमेरिकी नागरिकता परित्याग गरी नेपालमा बसेका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै सर्वोच्च अदालतले गत शुक्रबार उनको सांसद पद खारेज गरेको थियो । उपप्राधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले नागरिकता विवादमा सांसद पद खारेज भएसँगै पदबाट राजीनामा दिएका थिए ।
तर, अमेरिकी नागरिक भएकै बखत नेपालको स्वतः खारेज भएको नागरिकता प्रयोग गरी राहदानी लिएकोले उनमाथि राहदानी ऐन २०७६ अनुसार कसुर गरेको समेत देखिएको छ । यस ऐनअनुसार उनीमाथि कारवाही हुन सक्ने देखिएको छ ।