
धनुषा । धनुषाको नक्टाझिजमा पहिलो पटक राष्ट्रियस्तरको पाँचौँ संस्करणको सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता हुने भएको छ ।
नेपाल हक्की सङ्घका अनुसार मधेस प्रदेशको राजधानी जनकपुरधामदेखि उत्तरी भेगमा पर्ने मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा यही माघ २३ देखि २८ गतेसम्म राष्ट्रियस्तरको खेल हुन लागेको हो । प्रतियोगितामा सातवटै प्रदेश र नेपाल आर्मीको टोली सहभागी हुनेछन् ।
मधेस प्रदेशमा महिला हक्की टोलीलाई उकास्न र महिला सशक्तीकरणमा जोड दिन राष्ट्रियस्तरको खेल मधेस प्रदेशमा ल्याउन सफल भएको हक्की टोली मधेस प्रदेश संयोजक रवीन्द्र सिंहले बताए । प्रतियोगिता नेपाल हक्की सङ्घ र मिथिला नगरपालिकाको संयुक्त आयोजनामा हुने जनाइएको छ ।