
विराटनगरको शनिमन्दीर चोकका व्यवसायी मोहनप्रसाद न्यौपाने मृत भेटिएका छन् । इलेक्ट्रिक व्यवसायी न्यौपाने विराटनगर महानगरपालिका– ३ स्थीत आफ्नै घरमा मृत भेटिएका हुन् ।
५७ वर्षीय न्यौपानेले करिब तीन दशकयता शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए । बुधबार उनलाई आफन्तले बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन् । व्यवसाय गर्दा लागेको ऋणका कारण आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख छ ।
मृत भेटिएका न्यौपानेको सुसाइट नोट पनि फेला परेको छ । तीन पन्ने सुसाइट नोटमा उनले साग्रिला बैंकको एक करोड ४५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । जसको मासिक पाँच लाख किस्ता तिर्नुपर्नेछ ।
बुबा–आमा, श्रीमती र आफन्तलाई सम्बोधन गरेर लेखिएको सुसाइट नोटमा आफू बाच्न लायक नभएको उल्लेख गरेका छन् । सुसाइट नोटमा उनले आफूले राखेको पैसा र ऋणको विवरण उल्लेख गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तीराज कोइरालाले व्यवासयी न्यौपाने आत्महत्या प्रकरणको अनुसन्धान भइरहेको बताए ।
न्यौपाने इलेक्ट्रिक संघ मोरङका पूर्व अध्यक्ष हुन् ।
मंगलबार इलामका प्रेमप्रसाद आचार्यले राज्यले सहयोग नगरेको भन्दै काठमाडौंँमा आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा आज विहान निधन भएको थियो । बुधबार विराटनगरका व्यवसायी न्याैपानेले आत्महत्या गरेका हुन् ।