राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन् ।
नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटी राखेर विभिन्न शर्तसहित रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो ।
केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावदेन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए ।
एक १७ वर्षीया किशोरीले आफूलाई भदौ ५ गते काठमाडौंको पिङ्गलास्थानमा रहेको होटल काठमाडौं इनमा लगेर दुईपटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध भदौ २१ गते जाहेरी दिएकी थिइन् ।
जाहेरी परेपछि एक महिनासम्म सम्पर्कबिहीन भएर विदेशमा रहेका लामिछाने प्रहरीले डिफ्युजन नोटिस जारी गर्ने तयारी गरिरहँदा असोज २० गते अमेरिकाबाट कतारको दोहा हुँदै त्रिभुवन विमानस्थल झरेका थिए ।
बिमानस्थलबाट सन्दीपलाई नियन्त्रण लिएसँगै प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानबाट पाएको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।