क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् ।
बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनलाई विदेश जान भने रोक लगाइएको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अब भोली धरौटी जम्मा गरेपछि उनी सुन्धारा कारागारबाट रिहा हुनेछन् । अदालतपरिसर बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सन्दीप लामिछानेको पक्षबाट मुद्दा लडेका अधिवक्ता सरोज कृष्ण घिमिरेले भोली बैंकमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने थुनामुक्त हुने बताए ।
लामिछानेविरुद्ध परेको मुद्दा अब उनी बाहिरै बसेर लड्न पाउने गरी उच्च अदालतले आज आदेश दिएको हो । आदेशको पूर्णपाठ सार्वजनिक हुन बाँकी नै छ ।