
पछिल्लो केही समययता सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्दै आएकी गायिका समीक्षा अधिकारीले गायिका बन्नकै लागि जन्मिएको बताएकी छिन् । उनले सामाजिक संजालमा स्टाटस राख्दै स्वरले साथ दिँदासम्म गीत गाउने बताएकी हुन् ।
आफूलाई आइरहेका नकारात्मक कमेन्टहरूको प्रसङ्गलाई लिएर उनले एकजना दिदीको भनाईलाई उधृत गर्दै भनेकी छिन्, ‘जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मन लागी उड्छन् ।’
सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले उक्त कुरा बताएकी हुन् । उनले लेखेकी छिन्, ‘एउटा ठुलै विद्वानले भनेका रैछन् मान्छे तिन किसिमका हुन्छन् । उच्च स्तरको त्यो हो जसले बिचार र सिद्धान्तका कुरा गर्छ ब्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ ।
मध्यम स्तरका ति हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ । यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने । यहाँ अरुको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन् ।’
समीक्षाले लेखेकी छिन्, ‘सानो उमेरमा छोरी मान्छे बहकिन्छन्, राम्रो नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरुलाई थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ । म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।
कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ? हुन त हिउँदका कठ्याङ्ग्रिँदा दिनमा घसौटा बटुलेर आगो ताप्नुपर्दो रहेछ । एउटी दिदीले भन्नुहुन्थ्यो, जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मनलागी उड्छन्।’